Harsamaya
रौतहटमा केराको मःम बढी रोजाइमा
केराको परिकार बनाउने होटर र व्यवसायी ।

रौतहट - केरा खेतीको बिस्तारसँगै रौतहटका तीन स्थानमा यसबाट बनेका परिकार खुवाउने खाजा घर सञ्चालनमा रहेको छ । 

दुर्गा भगवती गाउँपालिकामा दुईवटा र ईशनाथ नगरपालिकामा एक गरी तीनवटा केराकै परिकार खुवाउने रेस्टुरेन्ट व्यवसाय सञ्चालनमा रहेको हो । 

यहा काँचो र पाकेको केराबाट बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, मःम, खिर, बर्फी, कस्टर, हलुवा र वाइन लगायतका परिकार बन्ने गरेको छ । प्रायः केराको परिकार खानका लागि छिमेकी पालिकासहित भारतका विभिन्न स्थानबाट मानिसहरू आउने बनाना रेस्टुरेन्टका सञ्चालकहरू बताउँछन । 

बनाना रिसोर्टका सन्चालक राकेश गुप्ताका अनुसार केराका परिकारको माग उच्च छ । केराबाट करिब २६ प्रकारका परिकार बनाइन्छ उनले भने यहाँ आएकाहरूले सबै परिकार रुचाउँछन् । विशेषगरी केराको मःम बढी रोजाइमा परेको उनको भनाइ छ । आफूले २० कट्ठा क्षेत्रफलमा केरा खेती गरेको समेत उनले जानकारी दिए ।

केरा बिक्रीसँगै रिसोर्ट सञ्चालनबाट महिनाको ३०/३५ हजार कमाइ हुने उनले बताए । केराबाट तयार भएको खाजाका प्रकार स्वास्थ्यको हिसाबले पनि फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गर्छ । चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीका अनुसार केरा स्वास्थ्यवर्धक फल हो ।

पाचन क्रियामा सुधारदेखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिने उनको भनाइ छ । केरालाई सुपर हेल्दी फुड मानिएकाले दैनिक एक/दुई कोसा खाँदा फाइदा हुने उनको तर्क छ । 

केरा खेती प्रवद्र्धनका लागि स्थानीय सरकारको भूमिका महत्त्वपुर्ण हुन्छ । पछिल्लो समयमा केरा खेतीसँगै यसको परिकारले रौतहटलाई चिनिन थालेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update