Harsamaya
पोखराबाट ३८ हजार बढीले लिए श्रम स्वीकृति
कार्टुन: हर समय/Har Samaya

पोखरा - चालू आर्थिक वर्षको ९ महिनामा पोखराबाट ३८ हजार ५ सय १३ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।

अन्तर्राष्ट्रिय श्रम दिवस २०८२, श्रम कानुन तथा श्रमसम्बन्धी विषयमा आइतबार पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

चालू आर्थिक वर्ष २०८१/०८२ चैतसम्म ३३ हजार ६ सय ८१ जना पुरुषसहित ३८ हजार ५ सय १३ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृत इने लिएको श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकालले जानकारी दिए ।

९ महिने अवधिमा ४ हजार ८ सय २३ जना महिलाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृत लिएको उनले बताए । पछिल्लो समयमा महिला पनि रोजगारीका लागि विदेश जाने क्रम बढ्दो रहेको प्रमुख ढकालको भनाइ छ । कार्यालयबाट चालू वर्षको चैतसम्म १२.५ प्रतिशत महिलाले श्रम स्वीकृत लिँदा ८७.५ प्रतिशत पुरुषले श्रम स्वीकृत लिएका छन् ।

९ महिने अवधिमा सबैभन्दा धेरै कात्तिकमा ५ हजार ९ सय ९ जना पुरुषले वैदेशिक रोजगारका लागि श्रम स्वीकृत लिएका छन् भने उक्त अवधिमा ७ सय ५० महिलाले श्रम स्वीकृति लिएको प्रमुख ढकालले बताए ।

त्यसैगरी सबै भन्दा कम साउनमा २ हजार ९ सय १८ जनाले स्वीकृत लिँदा सबैभन्दा कम असोजमा ३ सय ७० जना महिलाले श्रम स्वीकृति लिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।  नेपालबाट हाल खाडीसहित १ सय ११ वटा देशमा श्रम स्वीकृति लिएर नेपाली पुग्ने गरेका छन् । अघिल्लो वर्षमा पोखराबाट करिब २९ हजार जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।

गत वर्ष विदेश रोजगारीमा रहेका नेपालीको योगदानबाट १४ खर्ब रेमिट्यान्स भित्रिएको थियो भने यो वर्षको ९ महिनामा १० खर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको पछिल्लो तथ्यांक छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update