Harsamaya
आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी
सांकेतिक तस्वीर: हर समय/Har Samay

काठमाडौं - आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान दिई यो पर्व मनाइन्छ । 

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । 

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । 

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद्हरू बताउँछन् । 

सन्तानलाई ९ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी छ। बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ। 

वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भइ आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।  

आज काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update