
धनगढी - कैलाली एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा इंग्ल्याण्डका ६५ वर्षीय स्टेफन गोर मृत फेला परेका हुन् । उनी पर्यटक भिसामा नेपाल आएका थिए।
डोटी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराका अनुसार गोर गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए। बिहीबार राति करिब साढे ९ बजेको समयमा उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार उनी भित्रबाट ढोकाको चुक्कल लगाएर सुतिरहेका थिए। लामो समयसम्म ढोका नखुलेपछि, त्यही ठाउँमा बस्दै आएकी भारतको तामिलनाडु घर भई नेपाली मूलकी चित्रा कुमारी बमले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको बताइएको छ।
प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धान कार्य सकेपछि शव परीक्षणका लागि अस्पताल पठाइएको जनाएको छ। शव परीक्षणपछि कानुनी प्रक्रिया पूरा गरी मृतकको शव स्वदेश पठाउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।