Harsamaya
बाँके र रुकुम पश्चिममा सवारी दुर्घटना : दुई चालकको मृत्यु, पाँच जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बाँके र रुकुम पश्चिममा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका–४ किरण नालास्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मंसिर १३ गते साँझ करिब ७ बजे भे २ त ९५१६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब चारदेखि पाँच मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्टरले च्यापिएर चालक घाइते भएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले जेसीबीको सहयोगमा ट्याक्टर उठाएर घाइते चालकलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर पठाएको थियो ।

उपचारका क्रममा साँझ ७ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–२ निवासी अन्दाजी २६ वर्षीय जितेन्द्र कडेल रहेका छन् ।

त्यस्तै, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मंसिर १३ गते साँझ करिब ५ः५० बजे रुकुम खलंगाबाट बाँफिकोट गाउँपालिका–८ दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा जीपमा सवार छ जना घाइते भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाइएको थियो । उपचारका क्रममा साँझ ७ः१० बजे चिकित्सकले जीप चालकलाई मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–९ निवासी अन्दाजी २८ वर्षीय भीम सिंह बुढामगर रहेका छन् ।

दुर्घटनामा बाँफिकोट गाउँपालिका–८ दुलीकी अन्दाजी ३१ वर्षीया निर्मला केसी, उनका दुई वर्षीय छोरा दिनेश केसी, सोही स्थानकी ३२ वर्षीया मनिषा बस्नेत र ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन् । त्यस्तै, मुसिकोट नगरपालिका–१० की १८ वर्षीया जेनिशा वली पनि घाइते भएकी छन् ।

घाइतेमध्ये दिनेश केसी र जेनिशा वलीको अवस्था मध्यम रहेको छ भने निर्मला केसी, मनिषा बस्नेत र कर्णबहादुर खत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उक्त जीपमा चालकसहित १० जना सवार रहेकामा अन्य चार जना भने सकुशल रहेका छन् ।

दुवै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update