Harsamaya
पृथ्वी राजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजी जारी
सांकेतिक तस्वीर: हर समय/Har Samaya

दमौली - तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अङ्कित गुरुङ रहेका छन्। कक्षा ९ मा अध्ययनरत उनी पोखराबाट चितवन फर्किने क्रममा बसबाट ओर्लिएर सडक छेउमा शौच गर्न जाने क्रममा भिरबाट खसेका हुन्।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख ५२८५ नम्बरको बसमा सवार गुरुङ आँबुखैरेनीको डम्पिङ क्षेत्रमा पुगेपछि शौच गर्न सडक छेउमा गएका थिए। सोही क्रममा उनी सडकबाट करिब ५० देखि ६० मिटर तल भिरमा खसेर बेपत्ता भएको सूचना प्राप्त भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले तत्काल खोज तथा उद्धार कार्य सुरु गरेको छ।

बेपत्ता विद्यार्थीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update