Harsamaya

काठमाडौं - सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् ।

अस्पतालका एक स्वास्थ्य स्रोतका अनुसार मंगलबार साँझ आवासीय क्षेत्रमा रहेका तीनवटा घरलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको थियो । तर, युद्धजन्य हिंसाका घटनाको अभिलेख राख्दै आएको संस्था ‘इमर्जेन्सी लयर्स’ले भने आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको जनाएको छ ।

सन् २०२३ अप्रिलदेखि सुडानी सेना र आरएसएफबीच जारी युद्धका कारण दशौँ हजार मानिसको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित भएका छन् । पछिल्लो समय इथियोपियासँग सीमा जोडिएको ब्लु नाइल राज्यमा हिंसा थप चर्किएको छ ।

आरएसएफले राज्यको राजधानी अल–दामाजिन कब्जा गर्ने प्रयास गरिरहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार उक्त क्षेत्रका आसपासका गाउँबाट एक लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन् ।

यसैबीच, मंगलबार रोजेरेस सहरमा रहेको बाँध, विद्युत् उत्पादन केन्द्र तथा अन्य पूर्वाधारलाई लक्षित गरी पनि आक्रमण भएको जनाइएको छ ।

सुडानले आरएसएफलाई आफ्नो भूमिबाट आक्रमण गर्न दिएको आरोप इथियोपियामाथि लगाएको छ । तर, इथियोपियाले उक्त आरोप अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसङ्घले सुडानमा जारी युद्धलाई विश्वकै गम्भीर मानवीय सङ्कटमध्ये एकका रूपमा व्याख्या गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update