काठमाडौं - राष्ट्रिय सूचना आयोग चार महिनादेखि पदाधिकारीविहीन बनेको छ। प्रमुख सूचना आयुक्त र सूचना आयुक्त नियुक्तिका लागि आवेदन आव्हान गरिएको लामो समय बितिसक्दा पनि सरकारले नियुक्ति प्रक्रिया टुङ्ग्याउन सकेको छैन।
आयोगका पदाधिकारी नियुक्तिका लागि २०८३ साउन २२ गते दरखास्त आव्हान गरिएको थियो। साउन २८ गते आवेदन दिने अन्तिम म्याद तोकिए पनि हालसम्म नियुक्ति हुन सकेको छैन।
पदाधिकारी रिक्त हुँदा आयोगमा परेका पुनरावेदन तथा उजुरीमाथिको सुनुवाइ प्रभावित भएको छ। सूचनाको हकका विज्ञ तथा सरोकारवालाहरूले आयोग निष्क्रिय हुँदा नागरिकको सूचना प्राप्त गर्ने मौलिक अधिकारसमेत प्रभावित भएको भन्दै तत्काल पदपूर्ति गर्न माग गरेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने नियुक्ति प्रक्रिया अघि बढिरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद कोइरालाले प्रक्रिया निर्णय हुने चरणमा पुगेको बताएका छन्।

