काठमाडौं - हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने तराई भूभागका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।
आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार भोलि बिहान उपत्यका र खोँचहरूका साथै तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

