Harsamaya
विश्वप्रकाशले प्रधानमन्त्रीलाई सोधे: सत्यतथ्य सार्वजनिक गर्ने कि ढाकछोप गर्ने ?
नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा ।

काठमाडौं - नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’बारे उठेका प्रश्नको निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको भन्ने आरोपको वास्तविकता सार्वजनिक गर्न आग्रह गरेका छन्।

शर्माले सामाजिक सञ्जालमार्फत इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

शर्माले इनम सापकोटाकी श्रीमतीले आयोगमा दिएको उजुरीमा आफ्ना पतिलाई आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा राखिएको, मानसिक यातना दिइएको र विभिन्न उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाइएको विषय उठाएका छन्। उजुरीमा कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, व्यवसायी मीनबहादुर गुरुङलगायत व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको उल्लेख छ। 

शर्माले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै इनम प्रकरणमा सार्वजनिक भएका आरोप र उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो भन्ने प्रश्न गरेका छन्।

उनले लेखेका छन्, ‘पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भमध्ये एक हो। इनम प्रकरणलाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा होइन, यसमा जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ।’

शर्माले यस प्रकरणमा षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै गएको उल्लेख गर्दै अब सम्पूर्ण वास्तविकता सार्वजनिक हुनुपर्ने बताएका छन्। आरोप सत्य हुन् वा असत्य भन्ने विषयको निष्पक्ष छानबिन हुनुपर्ने उनको जोड छ।

उनले राज्यकै आडमा अपराधका डिजाइनहरू एकपछि अर्को बनिरहेका त छैनन् भन्ने गम्भीर प्रश्नसमेत उठाएका छन्। इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरी झुटो हो वा उजुरीमा उल्लेख गरिएअनुसार राज्यका निकायबाट दबाब र धम्की दिइएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

शर्माले यस प्रकरणको सत्यतथ्य बाहिर ल्याउन संसद्ले नै अग्रसरता लिनुपर्ने माग गरेका छन्। उनका अनुसार घटनामा जोडिएका सबै पक्षमाथि निष्पक्ष र पारदर्शी छानबिन गरी वास्तविकता नागरिकसमक्ष सार्वजनिक गरिनुपर्छ।

यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले इनम सापकोटाको उजुरी दर्ता भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान अघि बढाउने जनाएको छ। आयोगले सम्बन्धित सरकारी निकायसँग सोधपुछ गर्ने तथा हिरासतको अवस्थाबारे अनुगमन गर्ने प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update