काठमाडौं - थाइल्यान्डको राजधानी बैंककस्थित एक तेल प्रशोधन केन्द्रमा भएको भीषण विस्फोटमा परी नौ जना घाइते भएका छन्। बिहीबार भएको विस्फोटमा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
विस्फोटको आवाज र प्रभाव घटनास्थलबाट कैयौँ किलोमिटर टाढासम्म पुगेको थियो। विस्फोटलगत्तै प्रशोधन केन्द्रबाट आगोको ठूलो मुस्लो निस्किएको थियो भने आकाशमा बाक्लो कालो धुवाँ फैलिएको थियो।
घटनास्थलको निरीक्षण गर्न पुगेका थाइल्यान्डका ऊर्जामन्त्री अकानात प्रोम्फानले पूर्वी बैंककको फ्रा खानोङ क्षेत्रमा रहेको प्रशोधन केन्द्र आसपास आवासीय बस्तीसमेत रहेकाले घटनालाई गम्भीर रूपमा लिइएको बताए।
उनका अनुसार प्रारम्भिक जानकारीमा तेल भण्डारण केन्द्रभन्दा कम्तीमा १०० मिटर टाढा रहेको डिस्टिलेसन टावरबाट आगलागी सुरु भएको देखिएको छ। यसले तेल भण्डारण क्षेत्रमा हुन सक्ने क्षति सीमित गर्न सहयोग पुगेको उनको भनाइ छ।
प्रशोधन केन्द्र सञ्चालन गर्दै आएको ऊर्जा कम्पनी बाङ्चाक कर्पोरेसनले विस्फोटपछि लागेको आगो ३० मिनेटभित्र नियन्त्रणमा लिइएको जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
कम्पनीका अनुसार प्रशोधन केन्द्र आसपास गरिएको वायु गुणस्तर परीक्षणमा कुनै असामान्य अवस्था देखिएको छैन। ऊर्जामन्त्री प्रोम्फानले घटनास्थलको एक किलोमिटर आसपास कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइडलगायत प्रदूषक तत्त्वको परीक्षण गर्दा असामान्य अवस्था फेला नपरेको जानकारी दिए।
यद्यपि, प्रशोधन केन्द्र पुनः सञ्चालन गर्दा जोखिम नरहेकोमा ऊर्जा मन्त्रालय विश्वस्त नभएसम्म उत्पादन कार्य स्थगित गरिने उनले बताए।
विस्फोटपछि सुरक्षालाई ध्यानमा राख्दै नजिकैका विद्यालयका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको थियो। प्रहरीले स्थानीय बासिन्दालाई समेत प्रभावित क्षेत्र छाड्न आग्रह गरेको जनाएको छ।
बैंकक महानगरपालिकाअन्तर्गतको इरावान आपत्कालीन चिकित्सा केन्द्रले घटनामा नौ जना घाइते भएको पुष्टि गरेको छ। उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको केन्द्रले जनाएको छ।
विस्फोटपछि बैंककको आकाशमा कालो धुवाँ फैलिएकाले महानगर प्रशासनले मोबाइल फोनमार्फत सर्वसाधारणलाई सतर्क रहन र घटनास्थल आसपास नजान आग्रह गरेको थियो।
बाङ्चाक कर्पोरेसनका अनुसार उक्त प्रशोधन केन्द्र प्रतिदिन अधिकतम एक लाख २० हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमताको आधुनिक औद्योगिक केन्द्र हो। यसअघि सन् २०१२ को जुलाईमा पनि सोही प्रशोधन केन्द्रमा विस्फोट भई ठूलो आगलागी भएको थियो। तर, त्यसबेला मानवीय क्षति भएको थिएन। उक्त घटनापछि आवासीय क्षेत्र नजिकै ठूलो औद्योगिक केन्द्र सञ्चालनमा रहेको विषयमा विभिन्न प्रश्न उठेका थिए।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले घटनाबारे आफूले निरन्तर जानकारी लिइरहेको बताएका छन्। अनुसन्धान पूरा नभएसम्म घटनाको कारण र जिम्मेवारीबारे कसैलाई दोष दिन हतार गर्न नहुने उनको भनाइ छ।
घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।

