Harsamaya
‘कक्रोच’ आन्दोलनका नेता सौरभ दासलाई लन्डन जान रोक, विमानस्थलबाटै फर्काइए
सौरभ दास ।

नयाँदिल्ली - भारतको युवा नेतृत्वमा सञ्चालित ‘कक्रोच’ आन्दोलनका प्रमुख नेतामध्ये एक सौरभ दासलाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरूमा सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ।

कक्रोच जनता पार्टी (सिजेपी) का २७ वर्षीय नेता दासले सोमबार राति सामाजिक सञ्जालमार्फत आफूलाई लन्डन जाने उडानमा चढ्न नदिइएको जानकारी दिएका हुन्।

मङ्गलबार बिहान लन्डनका लागि उडान भर्ने तयारीमा रहेका उनलाई विमानस्थलका अध्यागमन अधिकारीहरूले राहदानीमा रोकसम्बन्धी सङ्केत रहेको जानकारी दिएका थिए। त्यसपछि उनी विदेश जानबाट वञ्चित भएका हुन्।

दासका अनुसार अक्सफोर्ड, क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) र एडिनबर्ग विश्वविद्यालयले उनलाई भारतमा सञ्चालित ‘कक्रोच’ आन्दोलनबारे सम्बोधन गर्न निमन्त्रणा गरेका थिए। डिसेम्बर १ मा अक्सफोर्ड युनियन सोसाइटीमा उनको सम्बोधनको कार्यक्रम तय भएको थियो।

भारतीय विद्यार्थीहरूले समेत उक्त कार्यक्रमको तयारी गरिरहेको अवस्थामा सरकारले आफूलाई विदेश जान रोक्नु बौद्धिक विचार र अभिव्यक्तिप्रतिको असहिष्णुताको सङ्केत भएको दासको आरोप छ।

सन् २०२६ मेमा स्थापना भएको सिजेपीले छोटो समयमै सामाजिक सञ्जालमा लाखौँ अनुयायी जुटाएको छ। गत जुलाईमा परीक्षामा भएको अनियमितताको विरोधमा पार्टीले आयोजना गरेको प्रदर्शनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब सिर्जना गरेको थियो। त्यसपछि भारतका शिक्षा मन्त्रीले राजीनामा दिएका थिए।

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै नयाँदिल्लीमा आयोजित प्रदर्शनका क्रममा सुरक्षा कारबाहीको अवज्ञा गरेको आरोपमा दासलाई एक महिनाअघि हिरासतमा समेत लिइएको थियो।

मोदी सन् २०१४ मा सत्तामा आएयता भारतमा मानव अधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको आलोचकहरूले आरोप लगाउँदै आएका छन्।

यसै महिनाको सुरुमा विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले आयोजना गरेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा एक सयभन्दा बढी विदेशी वक्तालाई सहभागी हुन रोकिएको थियो। रोक लगाइएकामध्ये यसअघि प्रधानमन्त्री मोदीसँग प्रेस स्वतन्त्रताबारे प्रश्न गरेकी एक नर्वेली पत्रकारसमेत थिइन्।

भारतमा यसअघि पनि यस्ता घटना भएका छन्। सन् २०२२ मा भारत प्रशासित कश्मीरकी पुरस्कार विजेता फोटोग्राफर सन्ना इरशाद मट्टुलाई पुलित्जर पुरस्कार ग्रहण गर्न अमेरिका जाने क्रममा भारतीय अधिकारीहरूले रोकेका थिए।

यी घटनाले भारतमा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र सरकारको आलोचना गर्ने व्यक्तिको विदेश भ्रमणमाथिको नियन्त्रणबारे पुनः बहस सिर्जना गरेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update