एजेन्सी - युक्रेनको किएभ क्षेत्रमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन्।
रुसी आक्रमणबाट आवासीय भवन तथा अन्य संरचनामा क्षति पुगेको छ। भत्किएका भवनका भग्नावशेषमा पुरिएका तथा सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि उद्धारकर्मीहरू परिचालन गरिएको छ।
किएभबाट करिब ४५ किलोमिटर उत्तरमा रहेको डायमरमा पाँचतले भवनको एक भाग भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारी तिमुर ताकाचेन्कोले बताएका छन्।
त्यस्तै, भिश्नेभस्थित एक सुपरमार्केटमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित १५ जना घाइते भएका छन्। बिला सेरक्वामा एक निजी घरमा भएको आक्रमणमा थप एक जनाको मृत्यु भएको छ।
युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार डायमरमा मृत्यु हुनेमध्ये एक किशोरी र ४० वर्षीया महिला छन्। उद्धारकर्मीहरूले ७९ वर्षीया महिला र एक बालकसहित केही व्यक्तिलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन्। भग्नावशेषमा पुरिएका तथा सम्पर्कमा आउन नसकेका व्यक्तिको खोजी जारी रहेको छ।
यसैबीच, रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ। ड्निप्रोपेट्रोभस्क क्षेत्रको विद्युत् सबस्टेसनमा समेत आक्रमण भएको प्रधानमन्त्री सेर्गी कोरेत्स्कीले बताएका छन्। जाडोयाम नजिकिँदै गर्दा ऊर्जा संरचनामाथि भइरहेका आक्रमणले युक्रेनको अवस्था थप चुनौतीपूर्ण बनेको छ।
यसअघि राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमिया पुलमा युक्रेनले गरेको आक्रमणको जवाफ अझ पीडादायी हुने चेतावनी दिएका थिए। युक्रेनले एक साताभित्र उक्त पुलमा तीन पटक आक्रमण गर्दा सवारी आवागमनका लागि प्रयोग हुने भाग क्षतिग्रस्त हुनुका साथै रेल सेवा अवरुद्ध भएको जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर बैठकपछि पुटिनको यस्तो चेतावनी आएको हो। उक्त बैठकमा युक्रेन र युरोपेली नेताहरूलाई सहभागी नगराइएकाले शक्तिशाली राष्ट्रहरूले उनीहरूको सहभागिताबिनै युद्धबारे निर्णय गर्न सक्ने आशङ्का व्यक्त गरिएको थियो।
यस बैठकलाई सन् १९४५ को याल्टा सम्मेलनसँग समेत तुलना गरिएको छ। दोस्रो विश्वयुद्धपछि भएको उक्त सम्मेलनमा अमेरिका, बेलायत र सोभियत सङ्घका नेताहरूले युरोपको क्षेत्रीय सीमाबारे छलफल गरेका थिए।

