पोखरा - नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेको भन्दा पनि कठिन राजनीतिक परिस्थितिको सामना गरेर अघि बढेको इतिहास रहेको बताएका छन् । पार्टी अहिले कठिन मोडमा रहे पनि विगतका चुनौती र संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेसले हरेक चुनौतीलाई चिर्दै लोकतन्त्रको रक्षा गर्दै आएको स्मरण गराए ।
‘अहिले पार्टी कठिन परिस्थितिमा छ । तर कांग्रेसले विगतमा अहिलेभन्दा अझ कठिन परिस्थितिको सामना गर्दै आएको छ,’ उनले भने, ‘हरेक चुनौतीलाई चिर्दै कांग्रेस अघि बढेको इतिहास छ ।’
गण्डकी प्रदेशको अधिवेशनलाई कांग्रेसको ऐतिहासिक यात्राको निरन्तरताका रूपमा व्याख्या गर्दै उनले पार्टीको गौरवशाली इतिहास र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई स्मरण गरेका थिए ।
पार्टीभित्र विशेष महाधिवेशनको वैधानिकता र नेतृत्वको विषयलाई लिएर विवाद चर्किरहेका बेला कोइरालाको यो भनाइ आएको हो ।
उद्घाटन समारोहमा अधिकांश नेताहरूले विशेष महाधिवेशनको वैधानिकता, पार्टीको आधिकारिकता र पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए ।
सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन गर्न पाइने भए पनि त्यसका लागि विधानले तोकेको निश्चित प्रक्रिया पूरा हुनुपर्ने बताए । आवश्यक हस्ताक्षरको सनाखत भएको थियो वा थिएन भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ थियो । पछिल्लो हिंसात्मक घटनामा आफूलाई जेनजी युवाहरूले नभई नेपाली सेनाले उद्धार गरेको दाबीसमेत उनले गरे ।
नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिको निर्णयबिना गरिएको विशेष महाधिवेशन अवैधानिक रहेको धारणा राखे। नेता प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
नेता विमलेन्द्र निधिले संविधानलाई समयानुकूल बनाउन आवश्यक संशोधन गर्नुपर्ने बताए । सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेस कमजोर हुँदा देशले प्राप्त गरेका राजनीतिक उपलब्धि गुम्ने जोखिम रहेको उल्लेख गर्दै पार्टी कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाए ।
प्रवक्ता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस नै पार्टीको मूलधार भएको दाबी गरे । कांग्रेसलाई कमजोर बनाउने प्रयासले राष्ट्रियता र लोकतन्त्रलाई समेत कमजोर बनाउने उनको भनाइ थियो ।
केन्द्रीय सदस्य एनपी साउदले विध्वंसको आडमा बालेनहरूले सत्ता र गगनहरूले पार्टी कब्जा गरेको टिप्पणी गरे। अर्का केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनमार्फत पार्टी विभाजन गराउने प्रयास भएको आरोप लगाए ।
केन्द्रीय सदस्य गुरु बरालले राष्ट्रिय चुनौती सामना गर्न कांग्रेसका नेता तथा कार्यकर्ता इमानदार र जिम्मेवार हुनुपर्ने बताए । केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले कांग्रेसले कसैको निगाहमा नभई विधि, विधान, संविधान र कानुनी प्रक्रियाका आधारमा आधिकारिकता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय सदस्य पुष्प पराजुली, सीता देवकोटा, रणबहादुर रावल, भूपेन्द्र राई, कोशी प्रदेशका महामन्त्रीलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

