Harsamaya
प्रधानमन्त्री शाह आज भारत जाँदै, मोदीसँग भोलि प्रतिनिधिमण्डलस्तरीय वार्ता
प्रधानमन्त्री वालेन्द्र शाह ।

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह आज भारतको दुई दिने राजकीय भ्रमणमा जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा विभिन्न विकास परियोजनाका विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीस्थित राजघाटमा पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन्। यसअघि आजै भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।

दुई देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछन्।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल–भारत व्यापार मञ्चको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ।

उक्त कार्यक्रममा भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्नुका साथै नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराइनेछ। यसबाट नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनेछन्।

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update