काठमाडौं - नेपाल सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा हुने जानकारी गराएको हो ।
यसअघि सरकारले आगामी आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो । छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले व्रत समापनको दिन सोमबार समेत बिदा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी गरिएको सूचनामा धार्मिक तथा सांस्कृतिक परम्परालाई मध्यनजर गर्दै उक्त दिन पनि सार्वजनिक बिदा दिइएको व्यहोरा उल्लेख गरिएको छ । यस निर्णयसँगै यस वर्षको छठ पर्वका अवसरमा आगामी आइतबार र सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

