एजेन्सी - साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।
साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले यसको पुष्टि गरेको हो।
जीएसीएले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार घाइते आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जीएसीएले भनेको छ, ‘नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले सन् २०२६ अक्टोबर २१, बुधबार साँझ (इस्लामिक पात्रोअनुसार १० जमाद अल(अव्वल १४४८ हिजरी) दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आक्रमण भएको जानकारी गराउँछ।’
नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणबाट भौतिक सम्पत्तिमा समेत क्षति पुगेको छ। क्षतिको वास्तविक अवस्थाबारे मूल्याङ्कन भइरहेको छ।
‘आक्रमणमा एक जना आवासीय व्यक्तिको मृत्यु भएको छ। साथै, सामान्यदेखि गम्भीर अवस्थासम्मका आठ जना घाइते भएका छन्। सबै घाइतेलाई आवश्यक उपचारका लागि तत्काल अस्पताल पु¥याइएको छ। आक्रमणबाट भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ, जसको मूल्याङ्कन भइरहेको छ। यसबारे थप जानकारी पछि उपलब्ध गराइनेछ,’ विज्ञप्तिमा भनिएको छ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले साउदी अरबमा कार्यरत अत्यावश्यकबाहेकका अमेरिकी सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई साउदी अरबबाट फिर्ता गर्न आदेश दिएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले एक्समा लेखेका छन्, ‘इरानको समर्थन प्राप्त हुथीहरूले साउदी अरबविरुद्धका शत्रुतापूर्ण गतिविधि बढाउँदै लगेका छन्। यसमा नागरिक विमानस्थल र अन्य महत्त्वपूर्ण पूर्वाधारमाथिका आक्रमणसमेत समावेश छन्, जसका कारण सर्वसाधारणको ज्यान जाने र हवाई यात्रामा गम्भीर अवरोध उत्पन्न हुने गरेको छ। विदेश मन्त्रालयका कर्मचारी र उनीहरूका परिवारको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। उनीहरूको संरक्षण र सहयोगका लागि हामी आवश्यक सबै कदम चालिरहनेछौँ।’
अल जजिराका अनुसार यमनी सेनाका सैन्य प्रवक्ता कर्णेल माजिद अल नाजिलीले हुथी सेनाले एकै दिनमा चौथोपटक अल रय्यान विमानस्थललाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेका छन्।
नागरिक उड्डयन पूर्वाधारमाथि निरन्तर भइरहेको आक्रमणको निन्दा गर्दै कर्णेल अल नाजिलीले विमानस्थललाई निशाना बनाउनु यमनी जनताको अत्यावश्यक सम्पत्तिमाथिको आक्रमण भएको बताएका छन्।
उनले यसलाई यमनी जनतामाथि नाकाबन्दी लगाउने उद्देश्यले गरिएको योजनाबद्ध कदमका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार विमानस्थलमाथिको आक्रमणले यमनी जनताको हितमा प्रत्यक्ष असर पार्नुका साथै उनीहरूको आवतजावत गर्ने स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउँछ।
अल जजिराले छुट्टै समाचारमा साउदी नेतृत्वको यमन गठबन्धनका प्रवक्ता ब्रिगेडियर जनरल तुर्की अलमालिकीलाई उद्धृत गर्दै साउदी अरबको पूर्वी प्रान्तलाई लक्षित गरी आएका चारवटा मानवरहित हवाई यान (ड्रोन) लाई गठबन्धनको हवाई प्रतिरक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरी नष्ट गरेको जनाएको छ।
क्षेत्रीय तनाव बढिरहेका बेला विमानस्थलका पूर्वाधारमाथि भएका पछिल्ला आक्रमणपछि यो घटना भएको हो।
यसअघि अक्टोबर १० मा किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणमा एक भारतीय नागरिकसहित १३ जनाको मृत्यु भएको थियो भने सयौँ मानिस घाइते भएका थिए।
साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए)ले अक्टोबर ११ मा जारी गरेको विज्ञप्तिमा उक्त घटनामा १२ जनाको मृत्यु भएको र ३०९ जना घाइते भएको जनाएको थियो।
त्यसपछि रियादस्थित भारतीय दूतावासले आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको थियो।
यसैगरी, अक्टोबर ६ र ७ मा किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र अभा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण भएका थिए। जीएसीएका अनुसार ती घटनामा तीन जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए।
क्षतिको मूल्याङ्कन गर्न र सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षा जाँच गर्न अधिकारीहरूले विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरेका थिए।
यसैबीच, भारतका विदेशमन्त्री एस.जयशंकरले मंगलबार पश्चिम एसियाको क्षेत्रीय अवस्था ‘गम्भीर चिन्ताको विषय’ रहेको बताएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँगको छलफलका क्रममा जयशंकरले भारतले संवाद र कूटनीतिमार्फत शान्ति प्रवद्र्धन गर्ने हरेक पहललाई समर्थन गर्ने बताए। एएनआई

