Harsamaya
स्नातकोत्तर चिकित्सकलाई १२ घण्टाभित्र छात्रावास खाली गर्न निर्देशन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

वीरगञ्ज - नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूको शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगित गर्दै १२ घण्टाभित्र छात्रावास तथा क्वार्टर खाली गर्न निर्देशन दिएको छ।

कलेजका प्रधानाचार्य कार्यालयले बुधबार जारी गरेको सूचनामा हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई दृष्टिगत गर्दै सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाउन चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोध गरिसकिएको जनाएको छ।

कलेजले तत्काल प्रभावबाट अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूको कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा आकस्मिक कक्षको ड्युटी र अन्य सबै प्रशिक्षण गतिविधि स्थगित गरेको जनाएको छ।

त्यसैगरी, सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र कलेजबाट उपलब्ध गराइएको छात्रावासको कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा खाली गर्न चिकित्सकहरूलाई निर्देशन दिइएको छ।

कलेजले आवासीय चिकित्सकहरूलाई आफ्नो जिम्मामा रहेको कलेजको सम्पूर्ण सम्पत्ति सम्बन्धित छात्रावास वा प्रशासन कार्यालयमा बुझाउन तथा तोकिएको अवधिभित्र हस्तान्तरण प्रक्रिया पूरा गरी आवासीय परिसरबाट व्यक्तिगत सामानसमेत हटाउन भनेको छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update