काठमाडौं - बाढी, पहिरो तथा सम्भावित बाढीका कारण बागमती प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काभ्रेमा वीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण १० टनसम्मका मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। साना तथा अन्य सवारी भने अवस्था हेरेर सञ्चालन गरिने जनाइएको छ।
रसुवामा मुख्य राजमार्गका सबै खण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध छन्।
त्यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीखोला र शीतलबजार क्षेत्रमा पृथ्वीलोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
प्रहरीका अनुसार सडकको अवस्था हेरेर यातायात सञ्चालन तथा रोकसम्बन्धी निर्णय अद्यावधिक गरिनेछ।

