Harsamaya
कुन कुन सडक छन् बन्द ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लगातारको वर्षा तथा बाढीपहिरोका कारण काभ्रे, रसुवा र नुवाकोटका विभिन्न सडकमा यातायात प्रभावित भएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । १० टनसम्मका मालवाहक सवारीसाधन भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको अवस्था हेरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

रसुवामा मुख्य राजमार्गका सबै खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । सूचना नआएसम्म अवरोध कायम रहने प्रहरीले जनाएको छ ।

त्यस्तै नुवाकोटको शिवपुरी गाउँपालिका–८ घ्याङफेदीमा टोखा–छहरे सडकखण्ड सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । विदुर नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड समेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा पृथ्वी राजमार्ग पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको छ । बेनीघाट रोराङ गाउँपालिका शीतलबजार क्षेत्रमा समेत पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सडकको अवस्था हेरेर यात्रा गर्न तथा सम्बन्धित निकायबाट थप सूचना प्राप्त नभएसम्म जोखिमयुक्त सडकमा सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update