Harsamaya

सुडान - उत्तरी सुडानमा सुन खानी भासिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

इजिप्टको सीमा नजिक रहेको आउनी खानी क्षेत्रमा शनिबार सुरुङहरू भत्किएका थिए। उद्धार टोलीले रातभर प्रयास गरेपछि २१ जना घाइते मजदुरलाई खानीबाट बाहिर निकालिएको घटनाबाट बाँच्न सफल व्यक्तिहरूले एएफपीलाई बताएका छन्।

उद्धारका क्रममा आइतबार बिहानसम्म १० जनाको शव निकालिएको जनाइएको छ। खानीमा अझै केही मजदुर पुरिएको हुनसक्ने आशङ्का गरिएको छ। सीमित उपकरणका बीच मजदुरहरूले नै उद्धार तथा बेपत्ताको खोजी गरिरहेका छन्।

सन् २०२३ अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेसबीच जारी युद्धका कारण देशको सुन व्यापार पनि द्वन्द्वसँग जोडिएको छ। सुडानका धेरै युवा जोखिमपूर्ण अनियमित खानीमा हात र सामान्य औजारको प्रयोग गरी काम गर्ने गरेका छन्।

यस्ता खानीमा काम गर्ने मजदुरहरू खानी भासिने तथा रासायनिक विषाक्तताको जोखिममा पर्ने गरेका छन्। गत साता दक्षिणी कोर्डोफान क्षेत्रमा खानी भासिँदा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो।

सुडान अफ्रिकाका प्रमुख सुन उत्पादक देशमध्ये एक हो। सरकारी तथ्यांकअनुसार गत वर्ष देशमा ७० टन सुन उत्पादन भएको थियो। अधिकारीहरूका अनुसार उत्पादन भएको अधिकांश सुन विभिन्न सीमावर्ती मार्ग हुँदै तस्करी भएर संयुक्त अरब इमिरेट्स पुग्ने गरेको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update