डडेल्धुरा - नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेशसभा सदस्य कर्णबहादुर मल्लले यथास्थितिमा भइरहेको जिल्ला अधिवेशनको प्रक्रिया तत्काल स्थगन गरी पार्टी एकताका लागि पहल गर्न आग्रह गरेका छन्।
शनिबार विज्ञप्ति जारी गर्दै मल्लले पार्टी विभाजन रोक्न उपयुक्त विकल्प खोज्दै अघि बढ्न कांग्रेसको सिंगो पंक्तिलाई आग्रह गरेका हुन्।
उनले जिल्ला कार्यसमितिको बैठकसमेत नराखी असोज १ गतेको भेलाको उपस्थितिमा निर्णय लेखेर एकाएक अधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन्। यस्तो कार्यले पार्टी विखण्डनतर्फ जाने जोखिम बढाएको उनको भनाइ छ।
मल्लले जिल्लाका अधिकांश स्थानीय तह र वडा कार्यसमितिले अधिवेशन स्थगन गर्न आग्रह गरेको तथा अधिकांश नेता–कार्यकर्ता पार्टी विभाजनको पक्षमा नरहेको उल्लेख गरेका छन्।
उनले अन्तिम मतदाता नामावलीमा थुप्रै कार्यकर्ताको नाम समावेश नगरिएको र पार्टी सत्ताको दुरुपयोग गरी अधिवेशनका नाममा पार्टी कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवासहितको सहभागितामा १५औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गराउन आवश्यक हेरफेर गर्नुपर्नेमा हतारमा अधिवेशन प्रक्रिया थालिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
मल्लले यथास्थितिमा हुने अधिवेशनमा आफू सहभागी नहुने स्पष्ट पार्दै पार्टी विभाजनतर्फ जाने दुष्परिणामको जिम्मेवारी कांग्रेसको सिंगो नेतृत्वले लिनुपर्ने चेतावनी दिएका छन्।

