काठमाडौं - बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त भएका २० वटा झोलुङ्गे पुलमध्ये ६ वटाको मर्मत आगामी १० दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारले काम तीव्र बनाएको छ।
बाढीले पुलका फलामे लठ्ठा सुरक्षित रहे पनि मानिस हिँड्ने भाग अर्थात् डेक बगाएको थियो। डेक निर्माणका लागि सरकारले भदौ २२ गते विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरिसकेको छ। सम्झौताअनुसार कम्पनीहरूले आगामी १० दिनभित्र डेक उत्पादन गरी सरकारलाई हस्तान्तरण गर्नेछन्।
सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकलाई प्रभावित क्षेत्रमा खटाएर पुलका फलामे लठ्ठा तान्ने तथा व्यवस्थापनको काम गरिरहेको छ।
त्यस्तै, बाढीबाट क्षतिग्रस्त बाँकी १४ वटा झोलुङ्गे पुल पनि आगामी एक महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत कार्य अघि बढाइएको छ।
करिडोरमा थप ३३ वटा झोलुङ्गे पुल भने पुनःनिर्माण नै गर्नुपर्ने अवस्था रहेको छ। पुनःनिर्माणका लागि आवश्यक फलामे लठ्ठा, बुलडग ग्रिप्सलगायत सामग्री खरिद गर्न सरकारले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ। उक्त बोलपत्र असोज ५ गते खोलिने तय भएको छ।
सरकारले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार बाढी आउनुअघि रसुवादेखि मुग्लिनसम्मको प्रभावित क्षेत्रमा कुल ६४ वटा झोलुङ्गे पुल सञ्चालनमा रहेका थिए।

