खैरो हेरोइनसहित मकवानपुरमा तीन जना पक्राउ
मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ नयाँबस्तीबाट प्रहरीले ३८ ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डमा चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ का २४ वर्षीय अभिषेक भ्लोन, मनहरी गाउँपालिका–३ डोढेका २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन्।
प्रहरीका अनुसार खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३८ ग्राम बरामद भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३ १६:५५
प्रतिक्रिया दिनुहोस्

