पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
धादिङ - भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ परेवाभीर क्षेत्रमा भोलि बिहानदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार सडक मर्मत गर्नुपर्ने भएकाले भदौ २० गते शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त स्थानबाट अत्यावश्यक सवारीसाधनबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
एम्बुलेन्स र शववाहनबाहेक अन्य सम्पूर्ण सवारीसाधनको आवागमन बन्द रहने प्रशासनले जनाएको छ।
सडक मर्मतका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्रशासनले सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ २०:५८
प्रतिक्रिया दिनुहोस्

