Harsamaya
ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्नेमा जोड दिए ।

उनले प्रभावित क्षेत्रमा प्रदेश सरकार, विभिन्न प्रदेशसभा तथा दाताहरूबाट सहयोग भइरहेको उल्लेख गर्दै बाढीपहिरोले क्षति पुर्याएका स्थानमा तुइन, झोलुङ्गे पुल तथा सडक निर्माणका काम अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘अहिले यतिवेला राहत र उद्धारको समय छ । हामी त्यसमा नै केन्द्रित हुन्छौँ । राहत र उद्धारसँगै जोडिएको पुनर्निर्माणको काम पनि छ ।’

ओलीले बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा गरिरहेको कामका लागि धन्यवाद दिँदै अन्य प्रदेश सरकार तथा दाताहरूलाई समेत सहयोग जारी राख्न आग्रह गरे ।

उनले भने, ‘बागमती सरकारले अहिले तुइन राखिदिने काम गर्दा जनतालाइ सहयोग पुग्छ । कतिपय ठाउँका झोलुङ्गे पुल निर्माण गर्ने, बाटोहरु निर्माण गर्ने कामहरु भइरहेको छ । प्रदेश सरकारलाई धन्यवाद भन्न चाहन्छु र विभिन्न प्रदेश सभाहरुले सहयोग पुर्याइरहेका छन् । अरु विभिन्न दाताहरुबाट पनि सहयोग जुटिरहेको छ । उहाँहरु सहयोगी मनका दाताहरुलाई धन्यवाद भन्न चाहन्छु । 

यसैगरी ओलीले विपद्का बेला नेपाली सेना र प्रहरीले उद्धार तथा राहतमा गरिरहेको कामको प्रशंसा गरेका छन् । तर सेनालाई राजनीतिक विवादमा मुछ्ने वा मुछिने अवस्था आउन नहुने उनको भनाइ थियो ।

नेपाली सेना राजनीतिक विवादबाट पृथक, निर्विवाद र निष्कलङ्क रहनुपर्नेमा जोड दिँदै ओलीले सेनालाई नेपाली जनताको आशा, भरोसा र विश्वासको राष्ट्रिय सुरक्षा संस्थाका रूपमा कायम राख्नुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १४:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update