सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित आफ्ना नागरिकका परिवारलाई सुनकोशी गाउँपालिकाले प्रतिव्यक्ति १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहायता दिने भएको छ।
गाउँपालिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भदौ १० गतेको बाढीबाट रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता तथा मृतकका परिवारलाई गाउँपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने जनाएको हो।
गाउँ कार्यपालिकाको भदौ १५ गतेको निर्णयअनुसार गाउँपालिकाभित्रका बेपत्ता वा मृतक व्यक्तिका परिवारलाई १ लाख ७५ हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ।
त्यसैगरी, प्रभावित परिवारका बालबालिकालाई गाउँपालिका क्षेत्रभित्र स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने भएको छ।
सुनकोशी गाउँपालिकाका केही नागरिक रोजगारीको सिलसिलामा बाढी प्रभावित रसुवा क्षेत्रमा रहेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको भन्दै गाउँपालिकाले चिन्ता व्यक्त गरेको छ। उनीहरू सकुशल फेला पर्ने आशा व्यक्त गर्दै गाउँपालिकाले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत वितरण र सुरक्षित पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
महाविपत्तिको यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिकाले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग र समन्वय गर्न सबैमा आग्रह गरेको छ।

