Harsamaya
विपद् कोषमा चौताराले ३५ लाख दिने, बेपत्ता र मृतकका परिवारलाई डेढ लाख राहत

सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी नदीलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले ३५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

नगरपालिकाका अनुसार जनप्रतिनिधि तथा नगरपालिका र मातहतका कार्यालय, स्वास्थ्य तथा शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीको २०८३ भदौ महिनाको पारिश्रमिकबाट तह तथा श्रेणीअनुसार ३ देखि १० दिनसम्मको तलब–भत्ता कट्टा गरी उक्त रकम संकलन गरिनेछ।

नगरपालिकाले आफ्नै क्षेत्रका १२ जना नागरिक बाढी प्रभावित रसुवा क्षेत्रमा कामको सिलसिलामा रहेका र हालसम्म अज्ञात अवस्थामा रहेको जनाएको छ। उनीहरूको खोज तथा उद्धारका लागि केन्द्रीय कमाण्ड पोस्टसँग निरन्तर समन्वय भइरहेको नगरपालिकाले जनाएको छ।

सम्भावित मानवीय क्षतिलाई ध्यानमा राख्दै नगरपालिकाले बेपत्ता वा मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाले विपद्को यस कठिन समयमा नागरिक समाज, निजी क्षेत्र, विभिन्न संघ–संस्था तथा आम नगरवासीलाई राहत, उद्धार र पुनःस्थापनाका कार्यमा सहयोग तथा समन्वय गर्न अपिल गरेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update