Harsamaya
सर्भेक्षक सुडीविरुद्ध ३ करोड ७१ लाखको गैरकानुनी सम्पत्ति मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार सुडीले २०४६ देखि २०८१ सम्मको अवधिमा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको पाइएको छ।

अनुसन्धानका क्रममा सुडीको वैध आय ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ रहेको देखिए पनि उनको कुल व्यय तथा लगानी ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ पुगेको आयोगले जनाएको छ।

स्रोत नखुलेको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै आयोगले भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनअनुसार मुद्दा दायर गरेको हो। सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुडीकी पत्नी सुमीत्रादेवी साहलाई समेत प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update