Harsamaya
सामाजिक सञ्जालमा चरित्रको परीक्षा 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

नेपालमा सामाजिक सञ्जाल अब केवल मनोरञ्जन, सूचना आदानप्रदान वा व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र रहेन; यो सामाजिक चेतना निर्माण, राजनीतिक बहस, सार्वजनिक दबाब, व्यवसाय प्रवद्र्धन र नागरिक सहभागिताको महत्वपूर्ण मञ्च बनेको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्सलगायतका माध्यमले सामान्य नागरिकलाई समेत सार्वजनिक बहसमा सहभागी हुने अभूतपूर्व अवसर दिएका छन्। तर अभिव्यक्तिको यो विस्तारसँगै सामाजिक सञ्जाल नेपाली समाजको नैतिक चरित्र परीक्षण गर्ने नयाँ ऐना पनि बन्दै गएको छ।

नेपालको वर्तमान डिजिटल परिवेशमा सूचना अत्यन्त तीव्र गतिमा फैलिन्छ । कुनै घटना घटेको केही मिनेटमै त्यससम्बन्धी तस्बिर, भिडियो, प्रतिक्रिया र टिप्पणी व्यापक रूपमा प्रसारित हुनसक्छ । सकारात्मक रूपमा प्रयोग हुँदा यही शक्ति भ्रष्टाचार, अन्याय, सार्वजनिक बेथिति र सामाजिक विभेदविरुद्ध नागरिक आवाज सशक्त बनाउने माध्यम बन्न सक्छ । तर तथ्य परीक्षण नगरी सूचना सेयर गर्ने, अफवाह फैलाउने, व्यक्तिगत चरित्रहत्या गर्ने, अश्लील तथा अपमानजनक टिप्पणी गर्ने र राजनीतिक वा सामाजिक ध्रुवीकरण बढाउने प्रवृत्तिले सामाजिक सञ्जालको नैतिक पक्षमा गम्भीर प्रश्न उठाएको छ ।

विशेषतः सार्वजनिक व्यक्तित्व, राजनीतिक नेतृत्व र सामाजिक घटनासँग सम्बन्धित विषयमा तथ्यभन्दा उत्तेजना हाबी हुने प्रवृत्ति देखिनु चिन्ताजनक छ। भाइरल हुने चाहनाले सत्यता, सन्दर्भ र मानवीय संवेदनशीलतालाई पछाडि पार्दा डिजिटल स्वतन्त्रता नै डिजिटल अराजकतामा रूपान्तरण हुन सक्छ। त्यस्तै, साइबर बुलिङ, गोपनीयताको उल्लङ्घन, नक्कली खाता, डीपफेक तथा घृणात्मक अभिव्यक्तिले व्यक्तिगत प्रतिष्ठा र सामाजिक विश्वासलाई कमजोर बनाउन सक्छ।

यस परिस्थितिमा सामाजिक सञ्जाल प्रयोगकर्ताको चरित्रको परीक्षा उसको कति फलोअर छन् भन्ने कुराले होइन, उसले कति जिम्मेवारीपूर्वक आफ्नो डिजिटल शक्ति प्रयोग गर्छ भन्ने कुराले निर्धारण गर्छ। पोस्ट गर्नुअघि सत्य जाँच्नु, असहमत हुँदा पनि मर्यादित भाषा प्रयोग गर्नु, अरूको गोपनीयता र प्रतिष्ठाको सम्मान गर्नु तथा गलत सूचना नफैलाउनु आजको नेपाली समाजमा डिजिटल नैतिकताको आधारभूत आवश्यकता हो। सामाजिक सञ्जाललाई सभ्य, तथ्यपरक र उत्तरदायी सार्वजनिक मञ्च बनाउने जिम्मेवारी सरकारको मात्र होइन, प्रत्येक प्रयोगकर्ताको पनि हो।

सामाजिक सञ्जाल आधुनिक समाजको सञ्चार, अभिव्यक्ति र सामाजिक अन्तक्र्रियाको अपरिहार्य माध्यम बनेको छ। फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्रामलगायतका डिजिटल प्लेटफर्मले व्यक्तिलाई सूचना प्राप्त गर्ने, विचार अभिव्यक्त गर्ने, ज्ञान बाँड्ने, सार्वजनिक बहसमा सहभागी हुने र सामाजिक सम्बन्ध विस्तार गर्ने अभूतपूर्व अवसर दिएका छन्। पहिले सञ्चारका साधनमा सीमित व्यक्तिको आवाज आज केही सेकेन्डमै लाखौँ मानिससम्म पुग्न सक्छ। यस अर्थमा सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रताको लोकतान्त्रीकरण गरेको छ।

तर अभिव्यक्तिको शक्ति बढेसँगै त्यसको जिम्मेवारी पनि बढेको छ। सामाजिक सञ्जालमा एउटा असत्य सूचना, अपमानजनक टिप्पणी, चरित्रहत्या गर्ने सामग्री वा घृणात्मक अभिव्यक्तिले व्यक्तिको प्रतिष्ठा, सामाजिक सम्बन्ध र मानसिक सुरक्षामा गम्भीर असर पार्न सक्छ। त्यसैले सामाजिक सञ्जालको स्वस्थ प्रयोगका लागि कानुनी व्यवस्थासँगै प्रयोगकर्ताको नैतिक अनुशासन अत्यन्त आवश्यक हुन्छ। डिजिटल संसारमा कानुनले सबै व्यवहार नियन्त्रण गर्न सक्दैन; त्यहाँ आत्मसंयम, विवेक, उत्तरदायित्व र मानवीय संवेदनशीलताको भूमिका निर्णायक हुन्छ।

दार्शनिक इमानुएल कान्टको नैतिक दर्शनले मानिसलाई कहिल्यै उद्देश्यका रूपमा व्यवहार गर्नुपर्ने मान्यता अघि सार्छ। सामाजिक सञ्जालमा यसको अर्थ स्पष्ट छ,अन्य व्यक्तिलाई आफ्नो लोकप्रियता, मनोरञ्जन, राजनीतिक लाभ वा आर्थिक स्वार्थका लागि प्रयोग गर्नु हुँदैन। डिजिटल माध्यममा पनि प्रत्येक व्यक्तिको गरिमा, गोपनीयता र अधिकारको सम्मान हुनुपर्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिलो नैतिक दायित्व सत्यप्रति प्रतिबद्ध हुनु हो। सूचना छिटो फैलाउने प्रतिस्पर्धामा कतिपय प्रयोगकर्ताले सामग्रीको सत्यता परीक्षण नगरी सेयर गर्ने प्रवृत्ति देखिन्छ। पहिले पोस्ट गर्ने मानसिकताले पहिले सत्य जाँच्ने संस्कारलाई विस्थापित गर्नु हुँदैन।

झुटो सूचना, आधा सत्य, भ्रामक शीर्षक, पुरानो घटनालाई नयाँ घटनाका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति र कृत्रिम रूपमा सम्पादन गरिएका तस्बिर तथा भिडियोले सार्वजनिक धारणा प्रभावित गर्न सक्छन्। त्यसैले कुनै संवेदनशील सामग्री पोस्ट वा सेयर गर्नुअघि स्रोत, मिति, सन्दर्भ र तथ्य जाँच गर्नु नैतिक कर्तव्य हो।

कार्ल पपरले खुला समाजमा आलोचनात्मक परीक्षण र तर्कको महत्त्वमा जोड दिएका थिए। यही दृष्टिले डिजिटल नागरिकले आफूले विश्वास गरेको सूचनालाई समेत प्रश्न गर्न सक्नुपर्छ। मलाई मन परेको सूचना र सत्य सूचना एउटै कुरा होइनन्।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार हो। सामाजिक सञ्जालले यो अधिकारलाई व्यापक बनाएको छ। तर स्वतन्त्रता निरपेक्ष अधिकार होइन। आफ्नो विचार व्यक्त गर्ने अधिकारसँगै अरूको सम्मान, प्रतिष्ठा र अधिकारको संरक्षण गर्ने जिम्मेवारी पनि जोडिएको हुन्छ।

आलोचना र अपमान, असहमति र घृणा, व्यङ्ग्य र चरित्रहत्या तथा प्रश्न र दुव्र्यवहारबीच स्पष्ट अन्तर हुन्छ। कुनै व्यक्ति, संस्था वा राजनीतिक विचारसँग असहमत हुनु लोकतान्त्रिक अधिकार हो; तर असहमतिका नाममा जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय वा व्यक्तिगत घृणा फैलाउनु नैतिक रूपमा स्वीकार्य हुन सक्दैन।जोन स्टुअर्ट मिलले स्वतन्त्र विचारको महत्त्वलाई बलियोसँग समर्थन गरे पनि सामाजिक जीवनमा अरूलाई हानि नपु¥याउने सिद्धान्तलाई महत्त्व दिएका थिए। सामाजिक सञ्जालमा पनि यही ‘हानि नगर्ने’ नैतिक सीमारेखा आवश्यक छ।

डिजिटल युगमा व्यक्तिगत गोपनीयता अत्यन्त संवेदनशील विषय बनेको छ। कसैको फोटो, भिडियो, फोन नम्बर, निजी कुराकानी, पारिवारिक विवरण वा व्यक्तिगत दस्तावेज अनुमति नलिई सार्वजनिक गर्नु गम्भीर नैतिक उल्लङ्घन हो। सार्वजनिक स्थानमा खिचिएको फोटो भएकाले पोस्ट गर्न पाइन्छ भन्ने तर्क सधैँ उचित हुँदैन। डिजिटल सामग्री एकपटक सार्वजनिक भएपछि त्यसको नियन्त्रण गुम्न सक्छ । त्यसैले अरूको निजी जीवनलाई सामग्री वा मनोरञ्जनको स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन । 

विशेषतः बालबालिका, पीडित व्यक्ति, दुर्घटनामा परेका मानिस, यौन हिंसाका पीडित तथा संवेदनशील अवस्थाका व्यक्तिको तस्बिर वा पहिचान सार्वजनिक गर्दा उच्च स्तरको नैतिक सावधानी आवश्यक हुन्छ।

सामाजिक सञ्जालमा भाषा व्यक्तित्वको दर्पण हो। असभ्य शब्द, गाली, व्यङ्ग्यात्मक अपमान, व्यक्तिगत आक्रमण र ट्रोलिङले संवादको संस्कृति कमजोर बनाउँछन्। मतभिन्नता भए पनि सभ्य भाषामा तर्क प्रस्तुत गर्नु डिजिटल नागरिकताको आधार हो।सामाजिक सञ्जालमा लेखिएको शब्द क्षणिक देखिए पनि त्यसको डिजिटल अभिलेख दीर्घकालसम्म रहन सक्छ। त्यसैले ‘पोस्ट गर्नुअघि सोच’ भन्ने सिद्धान्त अत्यन्त उपयोगी हुन्छ। आफूले आमनेसामने भन्न नसक्ने कुरा केवल स्क्रिनको पछाडि बसेर भन्नु नैतिक साहस होइन।

सामाजिक सञ्जालमा साइबर बुलिङ, ट्रोलिङ र घृणात्मक अभिव्यक्ति गम्भीर सामाजिक समस्या बन्दै गएका छन्। विशेषतः किशोरकिशोरी, महिला, सार्वजनिक व्यक्तित्व तथा कमजोर सामाजिक समूहहरू अनलाइन दुव्र्यवहारको जोखिममा हुन्छन्। कसैको शारीरिक बनोट, बोली, आर्थिक अवस्था, लिङ्ग, पेशा वा व्यक्तिगत कमजोरीलाई लिएर निरन्तर उपहास गर्नु व्यक्तिको आत्मसम्मानमाथिको आक्रमण हो। त्यसैले प्रयोगकर्ताले आफैँ दुव्र्यवहार नगर्ने मात्र होइन, अरूले गरिरहेको दुव्र्यवहारलाई प्रोत्साहन वा सामान्यीकरण पनि गर्नु हुँदैन।

लाइक, सेयर र कमेन्ट पनि नैतिक व्यवहारकै हिस्सा हुन्। हिंसात्मक वा अपमानजनक सामग्रीलाई समर्थन गर्ने डिजिटल सहभागिताले त्यसलाई थप फैलाउन मद्दत गर्छ। सामाजिक सञ्जालमा अरूको लेख, कविता, फोटो, अनुसन्धान, भिडियो वा सिर्जनालाई आफ्नो नाममा प्रस्तुत गर्नु बौद्धिक बेइमानी हो। सामग्री प्रयोग गर्दा मूल सर्जक वा स्रोतलाई उचित श्रेय दिनुपर्छ।शैक्षिक र सिर्जनात्मक संस्कृतिको विकासका लागि डिजिटल प्लेटफर्ममा स्रोत उल्लेख गर्ने बानी आवश्यक छ। इन्टरनेटमा भेटियो भन्दै कुनै पनि सामग्री स्वतः सार्वजनिक सम्पत्ति हुँदैन। बौद्धिक सम्पत्तिको सम्मान ज्ञानमा आधारित समाजको आधारभूत नैतिक मूल्य हो।

सामाजिक सञ्जाल राजनीतिक बहसको महत्वपूर्ण माध्यम बनेको छ। यसले नागरिकलाई सरकार, राजनीतिक दल र सार्वजनिक संस्थामाथि प्रश्न उठाउने अवसर दिएको छ। तर राजनीतिक सामग्रीमा झुटा सूचना, भ्रामक तथ्य, उत्तेजक भाषण र व्यक्तिगत चरित्रहत्या प्रयोग गरिएमा लोकतान्त्रिक संवाद कमजोर हुन्छ।

राजनीतिक विचार फरक हुनु स्वाभाविक हो। तर विपक्षी विचार राख्ने व्यक्तिलाई शत्रुका रूपमा चित्रण गर्ने प्रवृत्तिले समाजमा ध्रुवीकरण बढाउँछ। लोकतन्त्रमा असहमति समस्या होइन, असहमति व्यक्त गर्ने असहिष्णु संस्कृति समस्या हो। त्यसैले राजनीतिक पोस्टमा तथ्य, तर्क र प्रमाणलाई प्राथमिकता दिइनुपर्छ। भावनात्मक उत्तेजना फैलाउने सामग्रीभन्दा विवेकपूर्ण संवाद लोकतन्त्रका लागि बढी उपयोगी हुन्छ।

कृत्रिम बुद्धिमत्ता र डीपफेक प्रविधिको विकासले सामाजिक सञ्जालमा नयाँ नैतिक चुनौती थपेको छ। कसैको अनुहार वा आवाज प्रयोग गरेर वास्तविकजस्तो देखिने झुटो सामग्री तयार गर्न सकिन्छ। यस्तो प्रविधिको दुरुपयोगले व्यक्तिको प्रतिष्ठा, निर्वाचन, सार्वजनिक विश्वास र सामाजिक स्थिरतामा असर पार्न सक्छ।त्यसैले एआईबाट निर्मित वा सम्पादित सामग्रीलाई आवश्यकताअनुसार स्पष्ट रूपमा पहिचान गराउनु, भ्रामक सामग्री उत्पादन नगर्नु र अरूको पहिचान दुरुपयोग नगर्नु डिजिटल नैतिकताको महत्वपूर्ण पक्ष हो।

सामाजिक सञ्जालको प्रत्येक गतिविधिले डिजिटल पदचिह्न निर्माण गर्छ। आज लेखिएको टिप्पणी, पोस्ट वा साझा गरिएको सामग्री भविष्यमा व्यक्तिगत, शैक्षिक वा व्यावसायिक जीवनसँग जोडिन सक्छ। त्यसैले तत्कालको भावनामा आधारित पोस्टले दीर्घकालीन परिणाम निम्त्याउन सक्छ।यस कारण प्रयोगकर्ताले पोस्ट गर्नुअघि तीन प्रश्न सोध्नु उपयोगी हुन्छ,के यो सत्य हो? के यो आवश्यक छ? के यसले कसैलाई अनावश्यक हानि पुर्याउँछ? यी प्रश्नले डिजिटल आत्मनियन्त्रण विकास गर्न सहयोग गर्छन्।

सामाजिक सञ्जालको नैतिक आचारसंहिता जिम्मेवार डिजिटल नागरिक निर्माण गर्ने आधार हो। डिजिटल नागरिकले सूचना ग्रहण गर्दा आलोचनात्मक सोच अपनाउँछ, अरूको अधिकार सम्मान गर्छ, असहमतिलाई स्वीकार गर्छ, तथ्य जाँच्छ, गोपनीयताको रक्षा गर्छ र सामाजिक हितलाई व्यक्तिगत लोकप्रियताभन्दा माथि राख्छ।

ग्याब्रियल आल्मन्ड र सिड्नी भर्बाले राजनीतिक संस्कृतिको अध्ययनमा नागरिकको मूल्य, दृष्टिकोण र सहभागिताले राजनीतिक प्रणालीको स्वरूप निर्धारण गर्ने बताएका छन्। यही अवधारणा डिजिटल क्षेत्रमा पनि लागू हुन्छ। नागरिकको राजनीतिक संस्कृति जस्तै डिजिटल संस्कृति पनि लोकतन्त्रको गुणस्तर निर्धारण गर्ने महत्वपूर्ण आधार हो।

सामाजिक सञ्जाल प्रविधि मात्र होइन, सामाजिक शक्ति पनि हो। यसले ज्ञान फैलाउन सक्छ, तर भ्रम पनि फैलाउन सक्छ। यसले आवाजविहीनलाई आवाज दिन सक्छ, तर निर्दोष व्यक्तिको प्रतिष्ठा पनि नष्ट गर्न सक्छ। यसले लोकतान्त्रिक सहभागिता बढाउन सक्छ, तर घृणा र ध्रुवीकरण पनि तीव्र बनाउन सक्छ।त्यसैले सामाजिक सञ्जालको भविष्य केवल प्रविधिको विकासमा होइन, प्रयोगकर्ताको नैतिक चेतनामा निर्भर छ। सत्यता, जिम्मेवारी, गोपनीयता, सम्मान, सहिष्णुता, स्रोतप्रतिको इमानदारी, मानव गरिमा र आत्मसंयम यसको आधारभूत मूल्य हुनुपर्छ।

असल डिजिटल नागरिक हुनु भनेको आफूले लेखेको, हेरेको, लाइक गरेको, कमेन्ट गरेको र सेयर गरेको प्रत्येक सामग्रीको सामाजिक परिणामबारे सोच्नु हो। लोकतन्त्रको वास्तविक जिम्मेवार अभिव्यक्तिमा निहित हुन्छ। सामाजिक सञ्जाललाई सभ्य, समावेशी र ज्ञानमा आधारित सार्वजनिक मञ्च बनाउन प्रविधिभन्दा पहिले नैतिक चेतनाको विकास आवश्यक छ।(लेखक तोमनाथ उप्रेती नेपाल सरकारका उपसचिव हुन्)

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update