Harsamaya
चार महिनामा पाँच हजारभन्दा बढी विपद्का घटना, २५० जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो चार महिनामा पाँच हजारभन्दा बढी विपद्का घटना हुँदा २५० जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि भदौ ५ गतेसम्म देशभर ५ हजार १४ वटा विपद्का घटना भएका छन्। ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र १ हजार ६०७ जना घाइते भएका छन्।

विपद्बाट उक्त अवधिमा ६ हजार २७२ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी आगलागीका १ हजार १३६, पहिरोका १ हजार ११ र सर्पदंशका १ हजार १० घटना भएका छन्।

यसैगरी हावाहुरीका ४८०, भारी वर्षाका ३२०, बाढीका २७३, जनावरको आक्रमणका २७२ र चट्याङका २४५ घटना भएका छन्। वन डढेलोका १९१, लेक लाग्ने ५९, भूकम्पका चार, असिनाका चार, हिमपहिरोका दुई तथा डुङ्गा पल्टिने र विस्फोटनका एक–एक घटना भएका छन्।

प्राधिकरणका अनुसार भदौ ४ गतेदेखि ५ गते बिहान ८ बजेसम्म मात्रै देशभर ३३ वटा विपद्का घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन्।

उक्त अवधिमा विपद्का कारण अनुमानित ९ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको तथा दुई स्थानमा सडक अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update