Harsamaya
हसिना फिर्ता नभएसम्म भारत भ्रमण नगर्ने बङ्गलादेशी प्रधानमन्त्रीको संकेत
पूर्वप्रधानमन्त्री शेख हसिना ।

ढाका - बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पणको विषयमा भारतसँग ठोस प्रगति नभएसम्म नयाँ दिल्ली भ्रमण नगर्ने संकेत दिएका छन्।

बङ्गलादेशको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री रहमानको भारत भ्रमणका लागि ‘अनुकूल वातावरण’ आवश्यक रहेको जनाएको छ। मन्त्रालयका अधिकारी ए.के.एम. शाहिदुल करिमले भारतलाई हसिना र अन्य फरार व्यक्तिको प्रत्यर्पण प्रक्रिया अघि बढाउन आग्रह गरिएको बताए।

हसिना सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनपछि सरकार ढलेसँगै भारत पुगेकी थिइन्। बङ्गलादेशको विशेष अदालतले मानवताविरुद्धको अपराधको आरोपमा उनलाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको छ। ढाकाले पटक–पटक उनको प्रत्यर्पण माग गर्दै आएको छ भने भारतले उक्त अनुरोध कानुनी तथा न्यायिक प्रक्रियाअनुसार अध्ययन भइरहेको बताउँदै आएको छ।

यसैबीच, हसिनाले हालै भारतबाट सार्वजनिक अन्तर्वार्ता दिँदै डिसेम्बरमा बङ्गलादेश फर्किने घोषणा गरेपछि दुई देशबीचको तनाव थप बढेको छ।

प्रधानमन्त्री रहमानले यसअघि मलेसिया र चीनको भ्रमण गरिसकेका छन्। भारत भ्रमणको सम्भावनाबारे दुई देशका अधिकारीबीच छलफल जारी रहे पनि मिति अझै निश्चित भएको छैन।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update