Harsamaya
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु, चालक घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

पोखरा - कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक म्याग्दीको धौलागिरी गाउँपालिका–२ लुलाङका १८ वर्षीय दिनेश विक घाइते भएका छन्। उनको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका १६ वर्षीय अनिल विकको टाउकोमा चोट लागेको थियो। तत्काल उद्धार गरी मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि मोटरसाइकल अस्थायी प्रहरी पोष्ट हेम्जाको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update