Harsamaya
बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध, अरनिको राजमार्गका तीन खण्ड ठप्प
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पहिरो, बाढी तथा सडकमा आएको क्षतिका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले आइतबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध रहेको जनाएको छ।

सबैभन्दा बढी असर सिन्धुपाल्चोकको अरनिको राजमार्गमा देखिएको छ। भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित तातोपानी जाने सडक, भोटेकोशी गाउँपालिका–२ कोदारी र भोटेकोशी गाउँपालिका–२ लिपिङ क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यी सडकखण्डमा पहिरोका कारण लामो समयदेखि यातायात सञ्चालन प्रभावित हुँदै आएको छ।

सिन्धुपाल्चोककै चौतारा साँगाचोकगढी नगरपालिका–१ डुम्रे क्षेत्रमा भने अरनिको राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

काठमाडौँको नागार्जुन नगरपालिका–५ ठूलो खोला क्षेत्रमा सितापाइला–धार्के सडकखण्डमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ।

कोशीमा मेची राजमार्ग ठप्प
भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। वैकल्पिक बाटोसमेत प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। इलाम नगरपालिका–९ राजदुवाली (झापा–इलामदेखि ताप्लेजुङ सडक) क्षेत्रमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। वैकल्पिक बाटोबाट यातायात सञ्चालन भइरहेको जनाइएको छ।

काभ्रे र मकवानपुरमा रातिको समयमा सवारी रोक
काभ्रेको खानीखोला–नेपालथोक–कटुन्जेबेँसी क्षेत्रमा बाढीको सम्भावनालाई ध्यानमा राख्दै विपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी बिहानदेखि साँझसम्म परिस्थितिको मूल्याङ्कन गरेर सञ्चालन गर्न सकिने जनाएको छ।

मकवानपुरको हेटौँडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्डअन्तर्गत कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरोका कारण राति सवारी सञ्चालनमा रोक लगाइएको छ।

रसुवामा सडक लामो समयदेखि ठप्प
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। उक्त सडक लामो समयदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको बागलुङस्थित जैमिनी नगरपालिका–४ बेलबगर क्षेत्रमा कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ। त्यहाँ दोहोरो यातायात सञ्चालनमा समस्या रहेको जनाइएको छ।

लुम्बिनी प्रदेशको पाल्पामा तानसेन नगरपालिका–४ गोडेपुल क्षेत्रमा सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा आठबिसकोट नगरपालिका–६ रिजिगाड खोला क्षेत्रमा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अवरुद्ध सडकमा आवश्यक समन्वय गरी यात्रा गर्न तथा वर्षा, बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update