काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा बैंक तथा बैंकका कर्मचारीलाई लक्षित गरी प्रसारित भइरहेको भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले एक विज्ञप्ति जारी गर्दै मनिग्राम शाखाबाट प्रवाह भएका केही कर्जासम्बन्धी विषयलाई लिएर दिलीप सिंह ओलीसहित केही व्यक्तिले बैंकको नियमित कर्जा प्रवाह तथा असुली प्रक्रियामाथि अनावश्यक आरोप लगाउँदै बैंक र समग्र बैंकिङ प्रणालीको विश्वसनीयतामै आँच पुग्ने उद्देश्यले भ्रामक सामग्री उत्पादन, प्रसारण तथा पत्रकार सम्मेलनसमेत गरेको जनाएको हो।
विज्ञप्तिअनुसार दिलीप सिंह ओली सिद्धार्थ बैंकका निक्षेपकर्ता वा कर्जा ग्राहक नभएको बैंकको दाबी छ। बैंकले कर्जा प्रवाह र असुली प्रक्रिया प्रचलित कानुन तथा नियमनअनुसार नै सञ्चालन हुँदै आएको स्पष्ट पारेको छ।
बैंकका अनुसार कर्जा स्वीकृति र असुलीका क्रममा सबै ऋणीका हकमा समान प्रक्रिया अपनाइने गरिएको छ। कर्जा अनियमित भएका अवस्थामा विद्यमान कानुनी व्यवस्था अनुसार असुली प्रक्रिया अघि बढाइने र त्यसलाई तोडमोड गरी बैंक तथा कर्मचारीको चरित्रहत्या गर्ने उद्देश्यले प्रचार गरिएका सामग्रीमा कुनै सत्यता नरहेको बैंकले उल्लेख गरेको छ।
बैंकले आफ्ना सेवा वा कर्जासम्बन्धी कुनै गुनासो भए बैंकको आन्तरिक गुनासो सुनुवाइ संयन्त्र, नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइ वा प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोज्न आग्रह गरेको छ।
साथै, तथ्यहीन र आधारहीन सामग्री प्रकाशन वा प्रसारण नगर्न सञ्चारमाध्यम तथा सरोकारवालासँग अनुरोध गर्दै बैंकले आधिकारिक धारणा नबुझी भ्रामक सूचना फैलाउने कार्यले कानुनी जटिलता निम्त्याउन सक्ने चेतावनी दिएको छ ।


