Harsamaya
देशभरका १७ प्रमुख सडक प्रभावित, अरनिकोसहित ९ राजमार्ग पूर्ण रूपमा बन्द
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार बिहीबार साँझसम्म १७ वटा मुख्य सडकखण्ड प्रभावित भएका छन्। तीमध्ये ९ वटा पूर्ण रूपमा बन्द, ७ वटा एकतर्फी सञ्चालनमा रहेका छन् भने काभ्रे र मकवानपुरका सडकमा समय तोकेर मात्र सवारी सञ्चालन गरिएको छ।

बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध छ। दोलखाको तामाकोशी–५ किर्नेटरमा लामाबगर–रामेछाप सडक बन्द छ। रसुवाको उत्तरगया–५ खाल्टेमा त्रिशूली–स्याफ्रुबेँसी सडक र गोसाइँकुण्ड–२ घट्टेखोलामा पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

यता काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिइएको छ भने मकवानपुरको कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशमा भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ भने इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ।

गण्डकी प्रदेशमा मनाङको चामे–बेँसीसहर सडक, मुस्ताङको बेनी–जोमसोम सडक, बागलुङको कालिगण्डकी करिडोर तथा नवलपरासी (पूर्व)को गैंडाकोट क्षेत्रमा कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छन्। म्याग्दी र मुस्ताङका केही खण्डमा भने बेनी–जोमसोम सडक पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेशमा पाल्पाको तानसेन नगरपालिका–८ गौडेपुलस्थित सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगाई खोलामा आएको बाढीले भेरी करिडोर (जाजरकोट–डोल्पा सडकखण्ड) पूर्ण रूपमा बन्द भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित नाग्म–गमगढी सडक पनि अवरुद्ध छ।

नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था निरन्तर परिवर्तन भइरहेकाले यात्रा अघि सम्बन्धित निकायबाट सडकको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न तथा प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update