काठमाडौं - अविरल वर्षापछि आएको पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकका तीन स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीले साँझ ६:४० बजेसम्मको सडक अवस्थाअनुसार भोटेकोशी गाउँपालिका–४ चारकिलो (तातोपानी जाने बाटो), भोटेकोशी गाउँपालिका–२ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द रहेको जनाएको छ।
यस्तै, इलाम नगरपालिका–९ राजदुवाली (झापा–ताप्लेजुङ सडक) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
काठमाडौंको नागार्जुन–८ ठूलोखोला, सितापाइला–धार्के सडकखण्डमा पनि पहिरोका कारण एकतर्फी सवारी सञ्चालन गरिएको छ।
यसैगरी, काभ्रेपलाञ्चोक र मकवानपुरका केही सडकखण्डमा बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

