काठमाडौं - देशका विभिन्न स्थानमा पहिरो, बाढी र अविरल वर्षाका कारण मुख्य राजमार्ग प्रभावित भएका छन्।
नेपाल प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–८ ठूलोखोलास्थित सितापाइला–धर्के सडकखण्डमा गएको पहिरो पन्छाइएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।
यस्तै, भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने इलाम नगरपालिका–९ राजदुवाली (झापादेखि तालचुङ सडक) स्थित मेची राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ। उक्त सडकका लागि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चार किलो (तातोपानी जाने बाटो) र वडा नं.–२ कोदारीस्थित अरनिको राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

