काठमाडौं - अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।
प्रहरीका अनुसार ललितपुरको कान्तिलोकपथ, काठमाडौंको सितापाइला–धार्के सडकखण्ड, इलामस्थित मेची राजमार्ग तथा सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत चारकिलो र कोदारी खण्ड पूर्ण रूपमा बन्द छन्।
यस्तै, भोजपुरको मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको बीपी राजमार्गमा साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म र मकवानपुरको कान्तिलोकपथमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन अस्थायी रूपमा रोक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रभावित सडकमा यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न, आवश्यक सतर्कता अपनाउन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा चालकलाई आग्रह गरेको छ।

