Harsamaya

कपिलवस्तु - कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन्।

प्रहरीका अनुसार शिवपुराबाट जगदिशपुरतर्फ जाँदै गरेको लु.प्र. ०१–००३ प १५६१ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए।

दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–६ गोवरी निवासी २५ वर्षीय अक्षय श्रीवास्तव तथा पछाडि सवार २५ वर्षीय मुरेली यादव र २९ वर्षीय प्रतिक जैसवाल घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल कपिलवस्तु लगिएकोमा चिकित्सकले साँझ ५:३५ बजे मुरेली यादवलाई मृत घोषणा गरेका हुन्। गम्भीर घाइते प्रतिक जैसवाललाई थप उपचारका लागि साँझ ५:५५ बजे भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। चालक अक्षय श्रीवास्तव भने घटनापछि फरार रहेकाले उनको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update