काठमाडौं - कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइमर रोगसँग सम्बन्धित मस्तिष्कीय परिवर्तनलाई तीव्र बनाउन सक्ने कारण उनीहरूको आनुवंशिक संरचनासँग जोडिएको हुन सक्ने नयाँ अध्ययनले देखाएको छ ।
अस्ट्रेलियाको एडिथ कोवान विश्वविद्यालय अन्तर्गत सेन्टर फर प्रेसिजन हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले निद्राको बानी र विशेष जीनबीचको सम्बन्धले मस्तिष्कको क्षय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने देखाएको हो ।
अध्ययनले विशेषगरी एक्वापोरिन–४ जीन मा ध्यान केन्द्रित गरेको थियो । यो जीनले मस्तिष्कभित्र तरल पदार्थको आवागमन नियन्त्रण गर्न सहयोग गर्छ, जसले मस्तिष्कको प्राकृतिक फोहोर सफा गर्ने प्रणालीलाई प्रभावकारी बनाउँछ ।
वैज्ञानिकहरूका अनुसार मानिस सुतिरहेको बेला मस्तिष्कमा जम्मा भएका अनावश्यक पदार्थ हटाउने प्रक्रिया तीव्र हुन्छ । यो प्रक्रियाले अल्जाइमरसँग सम्बन्धित हानिकारक प्रोटिनहरू हटाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
तर अनुसन्धानले देखाएको छ कि यदि व्यक्तिमा रहेको एक्वापोरिन–४ जीनको प्रकार फरक छ भने खराब निद्राको प्रभाव पनि फरक हुन सक्छ । अनुसन्धानकर्ता डा. आयसिया मिलिगन आर्मस्ट्रङले भनेकी छन,‘केही एक्वापोरिन–४ जीन भेरियन्ट भएका व्यक्तिमा कम निद्रासँगै ग्रे म्याटरको क्षय छिटो भएको देखियो । यसको अर्थ जोखिम केवल जीनले मात्र निर्धारण गर्दैन, जीन र जीवनशैलीबीचको सम्बन्धले पनि प्रभाव पार्छ ।’ अनुसन्धानकर्ताहरूले १३ प्रकारका सामान्य एक्वापोरिन–४ जीन भेरियन्ट भएका व्यक्तिहरूको निद्राको अवस्था, मस्तिष्क स्क्यान र संज्ञानात्मक क्षमताको परीक्षण गरेका थिए ।
केही सहभागीमा कम समय सुत्नु मस्तिष्कको ग्रे म्याटर घट्नेसँग जोडिएको थियो भने केहीमा निदाउन धेरै समय लाग्नु मस्तिष्कको संरचनात्मक परिवर्तनसँग सम्बन्धित देखिएको थियो । ग्रे म्याटर मस्तिष्कको त्यो भाग हो, जहाँ स्मरणशक्ति, निर्णय क्षमता, चालचलन र अन्य महत्वपूर्ण कार्यसँग सम्बन्धित कोषहरू रहेका हुन्छन् ।
अल्जाइमर रोकथाममा व्यक्तिगत रणनीतिको आवश्यकता
अनुसन्धानकर्ता डा. टेनियल पोर्टरका अनुसार खराब निद्रा र अल्जाइमर जोखिमबीच सम्बन्ध रहेको पहिलेदेखि नै थाहा भए पनि नयाँ अध्ययनले सबै मानिसमा यसको असर एउटै नहुने देखाएको छ । ‘जोखिममा रहेका सबै मानिस एउटै तरिकाले रोगतर्फ अघि बढ्दैनन् । त्यसैले भविष्यमा अल्जाइमर रोकथामका लागि व्यक्तिको आनुवंशिक अवस्था र जीवनशैलीअनुसार फरक रणनीति आवश्यक हुन सक्छ,’ उनले बताइन् ।
अध्ययनका अनुसार समान स्तरको अल्जाइमर जोखिम भएका दुई व्यक्तिमा पनि मस्तिष्क क्षयको गति फरक हुन सक्छ । यसको एउटा कारण उनीहरूको जीनमा रहेको भिन्नता हुन सक्छ ।
अनुसन्धानकर्ताहरूले भविष्यमा जीनसम्बन्धी जानकारीलाई समेटेर क्लिनिकल परीक्षण गर्नुपर्ने बताएका छन् । यसबाट निद्रा सुधारजस्ता जीवनशैली परिवर्तनले आनुवंशिक जोखिम भएका व्यक्तिमा कस्तो प्रभाव पार्छ भन्ने पत्ता लगाउन सकिने उनीहरूको भनाइ छ । सेन्टर फर प्रेसिजन हेल्थका निर्देशक प्राध्यापक साइमन लजले भने,‘कसलाई बढी जोखिम छ र कसले कुन जीवनशैली परिवर्तनबाट बढी लाभ लिन सक्छ भन्ने पहिचान गर्नु नै भविष्यको व्यक्तिगत स्वास्थ्य सेवाको मुख्य दिशा हो ।’
यद्यपि अनुसन्धानकर्ताहरूले अहिले नै अल्जाइमर जोखिम पहिचान गर्न नियमित जीन परीक्षण सिफारिस गर्ने अवस्था नरहेको बताएका छन् । थप ठूलो र विविध समूहमा अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ । एएनआई

