काठमाडौं - लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शनिबार बिहान ६:२० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द र केही सडकमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको जनाएको छ।
प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवाली (झापा–इलाम सडक खण्ड) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको जनाइएको छ।
यस्तै, भोजपुर नगरपालिका–५ क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्गमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो (तातोपानी जाने सडक) र भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
यसैबीच, सम्भावित बाढीको जोखिमका कारण काभ्रेपलाञ्चोकस्थित बी.पी. राजमार्ग र मकवानपुरस्थित कान्तिलोकपथ मा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बी.पी. राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्तिलोकपथमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ।
प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

