काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई–मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले विशेष प्रस्ताव पारित गर्दै सुनसरी, सिरहालगायतका क्षेत्रमा विभिन्न समूहबीच भएको द्वन्द्वका कारण तीन जनाको मृत्यु र ठूलो संख्यामा मानिस घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।
बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै घटनाको कारण, झडपका क्रममा स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
बैठकले नेपाली समाज धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता, आपसी सद्भाव र राष्ट्रिय एकताको बलियो आधारमा उभिएको उल्लेख गर्दै पछिल्लो परिस्थितिमा पनि सामाजिक सद्भाव कायम राख्न विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सामाजिक क्षेत्रबाट भएका पहलको स्वागत गरेको छ । यस्ता प्रयासलाई निरन्तरता दिनुपर्नेमा बैठकले जोड दिएको छ ।
नेकपाले धार्मिक तथा सांस्कृतिक विविधतालाई राष्ट्रिय एकताको आधारका रूपमा लिनुपर्ने उल्लेख गर्दै कुनै पनि समुदायबीच विभेद, द्वेष र हिंसा फैलाउने गतिविधि स्वीकार्य नहुने स्पष्ट गरेको छ । नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थाको मुलुकमा बाह्य शक्तिले चलखेल गर्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने पनि बैठकको निष्कर्ष छ ।
बैठकले वर्तमान परिस्थितिमा सरकारको भूमिका निर्णायक हुने उल्लेख गर्दै प्रधानमन्त्री र सरकारले आवश्यक राजनीतिक संवेदनशीलता देखाउन नसकेको टिप्पणी गरेको छ। प्रशासनिक तथा सुरक्षा उपायमा मात्र केन्द्रित हुनु पर्याप्त नभएको भन्दै नागरिकसँग संवाद गर्न, सबै सरोकारवालालाई विश्वासमा लिन तथा समस्याको राजनीतिक र दिगो समाधान खोज्न सरकारलाई आग्रह गरिएको छ ।
त्यस्तै, बैठकले पछिल्लो परिस्थितिको आडमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र संविधानले सुनिश्चित गरेका उपलब्धिलाई कमजोर पार्ने, समुदायबीच घृणा, अविश्वास र तनाव फैलाउने तथा राजनीतिक स्वार्थ पूरा गर्ने कुनै पनि गतिविधिप्रति सचेत रहन सम्पूर्ण नेपाली जनतासँग अपिल गरेको छ । यस्ता विभाजनकारी प्रयासलाई असफल बनाउन लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्नेमा पनि जोड दिइएको छ ।
पार्टीले आफ्ना विभिन्न तहका समिति, नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल र संघसंस्थासँग समन्वय गर्दै संवाद, बैठक तथा सद्भाव र्यालीजस्ता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
बैठकले तराई–मधेशमा उत्पन्न परिस्थितिको समाधान राष्ट्रिय हितअनुकूल ढंगले खोजिनुपर्ने उल्लेख गर्दै अहिले राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको जनाएको छ ।
शान्ति, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको रक्षा गर्दै संविधान तथा लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपाली जनतालाई संयम, आपसी विश्वास र निरन्तर संवादका साथ अघि बढ्न अपिल गरेको छ ।

