काठमाडौं - अविरल वर्षापछि देशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण कम्तीमा आठ सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, एक सडक एकतर्फी सञ्चालनमा रहेको तथा एक सडक पुनः सञ्चालनमा आएको छ।
बागमती प्रदेश अन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित लामाबगर–रामेछाप सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक मार्गका रूपमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै बाटो खोलिएको र सुधारको काम भइरहेको जनाइएको छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल क्षेत्रमा मुग्लिङ–नारायणगढ सडकखण्डमा गएको पहिरो भने हटाइएपछि सडक सञ्चालनमा आएको छ।
गण्डकी प्रदेशमा बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर सडकखण्ड पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
यस्तै, स्याङ्जाको रुघुङ्गा गाउँपालिका–२ र बरेङ गाउँपालिका–३ सुकेबगर क्षेत्रमा पर्ने बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ।
लुम्बिनी प्रदेशमा रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित चौरजहारी–थवाङ–शहीद राजमार्ग र पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा रहेको सिद्धार्थ राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिठागाउँ खोलास्थित भेरी करिडोर (जाजरकोट–डोल्पा) सडकखण्ड बाढीका कारण बन्द छ। त्यस्तै मुगुको छायाँनाथ रारा नगरपालिका–७ झ्यारी खोलास्थित नाग्म–गमगढी सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा सम्बन्धित निकायको सूचनालाई पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

