काठमाडौं - त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
गत साउन ८ गते ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि व्यवस्थापन सङ्कायको डिन कार्यालयले अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्यूरोलाई पत्राचार गरेको थियो।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

