Harsamaya
मधेशमा लागूऔषधविरुद्ध कडाइ, तीन वर्षमा २,८११ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

जनकपुरधाम - मधेश प्रदेशमा लागूऔषधविरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा पछिल्ला तीन आर्थिक वर्षमा दुई हजार ८११ जना पक्राउ परेका छन्। सो अवधिमा लागूऔषधसम्बन्धी दुई हजार १२१ मुद्दा दर्ता भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दुई हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिक छन्। अभियानका क्रममा गाँजा, चरेस, अफिम, ब्राउन सुगर, हिरोइन, ट्याब्लेट, सिरफ र इन्जेक्सनसहित ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ।

बितेको आर्थिक वर्ष २०८२/८३ मा मात्रै ८७१ जना पक्राउ परेका छन् भने ६३० वटा मुद्दा दर्ता भएका छन्। प्रहरीका अनुसार नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै लागूऔषध ओसारपसार हुने क्रम अझै चुनौतीका रूपमा रहेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले लागूऔषधको दुव्र्यसनमा विशेषगरी २० देखि ३० वर्ष उमेर समूहका युवा बढी फस्ने गरेको बताउँदै अभिभावक, विद्यालय र समुदायको सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याए । 

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update