Harsamaya
 तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा बदली रहने र वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहनेछ।

विभागले हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाएको छ। यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

भारी वर्षाका कारण पहिरो, बाढी, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update