काठमाडौं - लगातारको वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ६ बजेसम्म नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। यस्तै, कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
पूर्ण रूपमा अवरुद्ध हुने सडकमा इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग, मुगुको नाग्म–गमगडी सडक, रसुवाको पासाङ ल्हामु सडकखण्ड, अछामको मध्यपहाडी लोकमार्ग र लमजुङको बेँसीसहर–चामे–मनाङ सडकखण्ड रहेका छन्।
यता, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड तामाकोशी नदीको कटानका कारण अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

