काठमाडौं - बागलुङको निसीखोला गाउँपालिका–३ की ३९ वर्षीया सुत्केरी मीना सुनारको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ।
सुत्केरीपछि अत्यधिक रक्तस्राव र पेट दुख्ने समस्या देखिएपछि उनलाई मंगलबार राति बुर्तिबाङ अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा लगिए पनि अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।
बुर्तिबाङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अविनाश पोखरेलका अनुसार प्रारम्भिक परीक्षणमा उनको पेटभित्र रगत जमेको पाइएको थियो। उनी बोहरागाउँ स्वास्थ्यचौकीमा प्राकृतिक रूपमा सुत्केरी भएकी थिइन्।
शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। सुरुमा काठमाडौं लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको थियो।

