काठमाडौं - वीरगञ्ज–पथलैया औद्योगिक करिडोरबाट सिर्सिया नदीमा प्रदूषित फोहर पानी मिसाएर वातावरणीय क्षति पुर्याएको आरोपमा उद्योग विभागले ६ वटा उद्योगलाई १०–१० लाख रुपैयाँका दरले जरिवाना गरेको छ। थप ६ वटा उद्योगमाथि कारबाहीका लागि मधेस प्रदेश सरकारलाई सिफारिस गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योगमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई प्रदूषण नियन्त्रणका लागि एक महिनाको समयसीमा दिएकी थिइन्। तर तोकिएको अवधिमा सुधार नगरेपछि विभागले कारबाही अघि बढाएको हो।
उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, हुलास स्टिल इन्डस्ट्रिज प्रालि, शिवशक्ति घिउ उद्योग प्रालि, सुशील वनस्पति प्रालि, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स र अशोक स्टिल इन्डस्ट्रिज प्रालि लाई जनही १० लाख रुपैयाँ जरिवाना गरिएको छ।
यसअघि वातावरण विभागको प्राविधिक टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत अनुगमन गरी फोहर पानीको नमूना संकलन गरेको थियो। परीक्षणका क्रममा १२ उद्योगबाट निस्किएको पानी वातावरणीय मापदण्डविपरीत प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
उद्योग विभागले मधेस प्रदेश सरकारको अधिकारक्षेत्रभित्र पर्ने अन्य छ उद्योगमाथि आवश्यक कारबाही गर्न सिफारिससमेत गरेको जनाएको छ।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौंदेखि रसायनयुक्त फोहर पानी सिर्सिया नदीमा मिसिँदै आएकाले नदी अत्यधिक प्रदूषित बनेको भन्दै स्थानीयवासी र वातावरणविद्ले लामो समयदेखि प्रभावकारी कारबाहीको माग गर्दै आएका छन्।
उद्योगमन्त्री गौरीकुमारी यादवले उद्योगबाट निस्कने फोहरमैलाले नदी प्रदूषित गरेको पाइएमा नियमित निरीक्षण गरी कानुनबमोजिम कडा कारबाही गर्न उद्योग विभागलाई निर्देशन दिएकी छन्।

